सार्वजनिक भयो उपमेयर पराजुलीका दशैँ गीत

0 Shares

भूमिप्रसाद पाठक, पथरी, ३० असोज । मोरङको मध्यमा अवस्थित बेलबारी नगरपालिका यतिखेर विभिन्न कारणले चर्चाको शिखरमा छ । एकातिर जनसरोकारका क्षेत्रमा नगरबासीमाझ साथी–सहयात्रीको रूपमा उपस्थित रहँदै उपप्रमुख तारा पराजुलीको अहोरात्र क्रियाशीलता र अर्कोतिर विधागत विभिन्न समुदायका स्रष्टामाझ उनको अभिभावकीय उपस्थितिले बेलबारी स्रष्टा सम्मान र संरक्षणको मियो भूमिकामा रहेको प्रष्ट हुन्छ । यहिँ सिलसिलामा गहिरो अध्ययन अनुसन्धानमा विश्वास गर्ने उपप्रमुख पराजुलीद्वारा लिखित यस वर्षको दशैँ गीत बिहिबार काठमाडौंमा सम्पन्न एक भव्य कार्यक्रमबीच सार्वजनिक भएको छ ।

बेलबारी नगरपालिका उपप्रमुख एवं कवि, लेखक र गीतकार तारा पराजुलीको शब्द रचना रहेको उक्त गीत नेपालीहरूको महान पर्व दशैँसँग सम्बन्धित रहेको छ । मर्मस्पर्शी प्रस्तुति रहेको उक्त गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारी निवासी बेलबारीका प्रहिलो बेलबारी आइडल सुमधुर स्वरका धनी विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको रहेको छ । गीतलाई एरेञ्जर राजवाहकले एरेञ्ज गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘महानायक’ को यो दशैँ गीत आज द पिक स्टुडियो काठमाडौंमा रेकर्डिङ भएको हो । श्रोताहरूको चीरप्रतिक्षित मागलाई मध्यनजर गर्दै बजारमा ल्याइएको गीत अब चाँडै बजारमा ल्याइने निर्देशक लामाले बताउनुभयो ।

बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमाल दुबै संगीत क्षेत्रमा सम्भावना बोकेका गायकगायिका हुन् । दुबै यो समयका शक्तिशाली गायकगायिका भएकै कारण पनि यो गीत सुन्दर र सफल बन्ने छ, श्रोताहरूको भरपुर माया पाउने छ भन्ने कुरामा म ढुक्क छु । आम श्रोताहरूको माया र प्रेमले मात्र प्रतिभाशाली गायकगायिकालाई समेत यस क्षेत्रमा थप स्थापित हुन सहयोग पुग्ने छ– उपप्रमुख एवं गीत शब्द रचनाकार पराजुलीले संवाददाताको जिज्ञासा मेटाउँदै भन्नुभयो । उपप्रमुख पराजुलीद्वारा लिखित एक दर्जनभन्दा बढी गीतहरू यस अघि नै रेकर्डिङ भइसकेका छन् । उहाँ बाल्यकालदेखि नै काव्य लेखनमा रूचि राख्ने स्रष्टा हो । देशभरका थुप्रै एकल काव्य बाचनमा समेत सर्वोत्कृष्टता हात लगाएकी उहाँ दर्जनौं पुरस्कारबाट पुरस्कृत र सम्मानित हुनुभएको छ । 

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap