त्यो दशैँ, यो दशैँ

0 Shares

अर्जुन कुमार बराल

यो वर्ष पनि नेपालीहरुको महान चाड ‘दशैँ’ले हाम्रो आँगन टेकिसकेको छ । कोरोनाको कहरले यो वर्षको दशैँ यसै पनि खल्लो हुँदैछ । कुनै उत्साह छैन, उमंग छैन । तर ‘दशैँ’ भन्ने वित्तिकै वाल्यकालका सुमधुर यादहरु सबैका मानसपटलमा दौडिन थाल्छन् । र शरीर एक किसिमले रोमाञ्चित हुन थाल्छ । मन मस्तिष्कमा विगतका सुमधुर यादहरु सल्बलाउन थाल्छन् । म यतिखेर आजभन्दा ४०- ४५ वर्ष अगाडिका स्वर्णिम दिनहरु सम्झिरहेको छु । त्यो बेलामा गाउँमा आधारात सम्मै ढिकीका आवाजहरु सुनिन्थे- ढुक ढुक । गाउँमै चिउरा कुट्ने चटारो हुन्थ्यो । आफ्नै गाउँघरमा कुटिएको चिउराको स्वाद नै बेग्लै । बारीमा फलेर पाकेको चिनी-चम्पा र मालभोग केरा सँग दहीमा मुछेर खाएको चिउराको त्यो स्वाद- आहा..! 

दशैँ कहिले आउला भनेर २ महिना अगाडिबाटै काउन्ट डाउन शुरु गरिन्थ्यो । त्यसका पछाडि अनेक कारणहरु थिए । स्कुल लामो समय छुट्टी हुने हुँदा मन लाग्दो रमाइलो गर्न पाइने । भनेको जस्तो मीठा मीठा परिकारहरु खान पाइने । नयाँ लुगा लगाउन पाइने । मावल र अन्य धेरै आफन्तहरुका घरमा गएर निधारभरी टीका लगाएर पैसा पनि पाइने । जुनेली रातमा खेतका आली आली हिँड्दै आफन्तकोमा टीका थाप्न गएका सम्झनाहरु पनि आलै छन ।  र त्यो पैसाले आँफुलाई मन लागेका अनेक चीजबीजहरु किन्न पाइने । त्यसमा बेलुन देखि लिएर अन्य विभिन्न खेलौनाहरु र बन्दुकसम्म पनि पर्दथ्यो । 

दशैका १५ दिन नै वास्तवमै उत्सवमय भएर बित्थ्यो । घरमै दर्जी बोलाएर हामी सबै केटाकेटीका नयाँ लुगा सिलाउने गरिन्थ्यो । वहाँले ३, ४ दिन बसेर लुगा सिलाउँदा एकैछिन नछोडी वहाँकै छेउमा बसेर बेला बेलामा लुगा सिउने मेशिनको ह्याण्डिल घुमाउन रमाइलो लाग्थ्यो । मैले त हाम्रो लुगा सिलाइदिनुहुने अङ्कलको नाम नै ‘दशैँ’ राखेको रहेछु । त्यसपछि त जहिले भेटेपनि वहाँको नाम नै ‘दशैँ’। त्यो परम्परा अहिले छैन । दशैँमा नयाँ लुगा लगाएर प्रत्येक आफन्तकोमा टीका लगाउन जानुको आनन्द कति हो कति । टाढा टाढा देखिका आफन्तहरुलाई आफ्नो घरमा भेट्न पाउनुको मजा पनि छुट्टै हुन्त्यो ।

दशैँलाई सम्झनुपर्ने अरु पनि थुप्रै रमाइला अनुभवहरु छन् । कालीस्थान त्यसैपनि एउटा रमणीय ठाउँ । चोकैमा भएको काली मन्दिरमा हुने पूजाको रमझम त छँदैछ । तर त्यो भन्दा पनि दशैँको छेको पारेर देखाइने पुर्णाङ्की नाटकले ल्याउने उल्लास झनै रमाइलो हुन्थ्यो । कालीस्थान स्कुलमा पढाउनुहुने शिक्षकहरुकै विशेष सक्रियतामा स्थानीय युवाहरुलाई नै अभिनय गराएर अत्यन्त सिमित श्रोत साधनमा पनि त्यति उत्कृष्ट नाटक कसरी प्रस्तुत गर्न सक्नु भयो होला ? जे होस् हामी केटाकेटीलाई ती नाटकहरुले बडो आनन्दित बनाउँथ्यो । गाना -बजाना सहितको साँस्कृतिक कार्यक्रमहरुको रौनक त अहिले पनि कायमै छ ।त्यसले कालीस्थानको एउटा छुट्टै परिचय पनि दिएको थियो । वास्तवमा दशैँ मनाउने कालीस्थानको आफ्नै छुट्टै र मौलिक शैली आजसम्म पनि जीवितै छ ।

बाटोको छेउछाउमा भएका झारजंगलहरु सफा गर्ने, खाल्डा खुल्डीहरु पुर्ने र गाउँलाई नै सफा सुग्घर सहित चिटिक्क पारेर राख्ने काममा गाउँका सबैजनाको सक्रिय सहभागिता रहन्थ्यो । यही काममा पनि एउटा छुट्टै आनन्द प्राप्त हुन्थ्यो । स्कुलको मैदानमा हुने फुटबल खेल हेर्न र कहिलेकाहिँ खेल्न पनि पाउँदाको मजा त झन् कति हो कति । लिङ्गे पिङमा राति अबेरसम्मै झुम्मिनुमा अर्कै रौनक थियो । लुकीचोरी तास खेल्न पनि सिकिएको थियो । अलिअलि पैसा भयो भने कालीस्थान चोकमा गएर डाइसमा उडाउनु पनि मज्जै हुन्थ्यो । गुच्चा खेलेर रमाइलो गर्नु त सामान्य नै भयो ।   अर्थात यी १५ दिनहरु जीवनका सर्वाधिक रमाइला दिनहरु हुन्थे । घरका अभिभावकलाई दशैँको आर्थिक व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो होला, तर त्यससँग हामीलाई के मतलब भो र ? हामीलाई थाहा पनि हुँदैनथ्यो । अहिलेको भर्चुअल दुनियाँमा रमाउने पुस्ताले हाम्रो समयको जस्तो आनन्द लिन कहाँ पाउनु र ? उनीहरु मोबाइल गेम र टिभीमै खुम्चिएका छन् । नाता सम्बन्धहरु पनि साँघुरिएका छन् । नजिकका आफन्तहरु नै पनि उनीहरु चिन्दैनन् । प्रकृति सँग आत्मीयता गाँस्नुको आनन्द कति हुन्छ ? साँस्कृतिक महत्व बोकेका चाडहरुले हाम्रो बाँच्ने शैलीलाई कति रोमाञ्चक बनाउँछन् – अहिलेको पुस्ताले यो कुरा बुझ्दैन । हामीले त्यो वातावरण पनि दिन सकेनौँ । वास्तवमा उपभोक्तावादी संस्कृतिले दशैँको साँस्कृतिक पक्षलाई कमजोर बनाउँदै लग्यो ।   

समयको प्रवाहसँगै दशैँ मान्ने हाम्रा शैलीहरु पनि परिवर्तन हुँदै गए । दशैँ केवल एउटा साँस्कृतिक चाड मात्रै रहेन, बरु यो सँग आर्थिक र सामाजिक हैसियत पनि जोडिएर आयो । अर्थात हुनेखानेहरुको एउटा रमाइलो चाड र हुँदा खानेहरुको अर्कै पीडादायी चाड । यो खाडल खासगरी पछिल्लो समयमा झन् बढ्दो छ । अवसर पाउने र नपाउनेहरुको बीचमा पर्खाल ठडिँदो छ । यसले सामाजिक सम्बन्धहरु पनि बिथोलिँदै छन् । यसले चाडपर्वको रौनक पनि क्रमशः खस्किँदै गयो ।

    दशैँको प्रशंग आउँदा म २०३९ सालको दशै सम्झन्छु । त्यो वर्ष दशैँ छुट्टीमा ताप्लेजुङ जाने कार्यक्रम बन्यो -कान्छो मामा सँग। ताप्लेजुङ- मेरो पुर्ख्यौली थलो । पहाडको दशैँको रौनक नै अर्कै । घरको भित्ताको माथिल्लो आधाभाग सेतो कमेरो माटो र तल्लो आधा भाग रातो माटोको संयोजन बाट चिटिक्क पारेर रंगाइएका घरहरुले दशैँ साँच्चै रंगीन बनाउँदो रहेछ ।  त्यहाँका डाँडापाखा, खोलानाला, बनजंगल, उकाली ओराली सबै सबै मनमोहक । पर पर सम्म देखिने सेताम्य सुन्दर घरहरु । प्रकृतिसँग एकदमै नजीक रहेको जीवनशैली । रोटेपिङ र लिङ्गेपिङमा  रमाइरहेका केटाकेटी र युवायुवतीहरु । फुल्न लागेका सयपत्री र मखमलीका फूलहरु, फल्दै गरेका सुन्तला, कागती र अम्बाका बोटहरु । उत्तर-पुर्वतिर देखिने पाथीभराको डाँडो, कुम्भकर्ण र कञ्चनजंघा हिमश्रृंखलाहरु । यस्तो लाग्थ्यो- मानौँ स्वर्ग यही हो ।

     दशैँका अनेक अनेक सम्झनाहरु छन् । सबै प्रशंगहरु व्याख्या गरेर साध्य पनि छैन ।कतिपय त विस्मृतिको तुवाँलोमा हराइसके । ती दिनहरु अब फर्कँदैनन् पनि । । तर ती सम्झनाहरुले बाँच्न प्रेरणा भने दिइरहँदा रहेछन् । दशैँले सामाजिक  सम्बन्धहरुलाई नजिक बनाउँछ, न्यानो र ताजा बनाउँछ । तर यो वर्ष कोरोनाले सबैथोक बिथोलिदियो । हामीसँग अब आफ्नैघर भित्रै खुम्चिनुको विकल्प पनि रहेन । दशैँका शुभ-कामनाहरु फेसबुकका म्यासेञ्जर र अन्य सामाजिक सञ्जालहरुमा सिमित भइरहेको सन्दर्भमा अहिलेको परिस्थितिले झन् त्यसलाई मलजल गर्ने भई नै हाल्यो ।  यो वर्ष सुरक्षित रहन सकियो भने अर्को वर्ष यो चाड अझ रमाइलोसँग मनाउँला । सबै साथीभाइ, गुरुजन र आफन्तहरुमा बडादशैँको हार्दिक मंगलमय शुभकामना ।

Share via
Copy link
Powered by Social Snap