आरोपित भन्छन्- मेरो लोकप्रियता देखेर अताल्लिए

1 Share

काठमाडौं । दुई पक्षबीचको झडमा मारिएका नेकपा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको शव ६ दिनदेखि नारायणी उपक्षेत्रीय अस्पतालबाट उठ्न सकेको छैन । गत असोज ६ गते गाउँपालिकाका कमिटीको शपथ ग्रहण स्थलनजिकै सत्तारूढ नेकपाकै दुई पक्षबीच झडप भएको थियो । 

शपथ ग्रहण चलिरहँदा बाँस, लट्ठीसहित पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ता आएर एक्कासि आक्रमण गर्न थालेको ओली इतरसमूहले आरोप लगाएको छ । बाँसको भाटा टाउकोमा लागेका चौरसियाको वीरगन्जको न्युरो अस्पतालमा उपचारका क्रममा त्यही दिन बेलुकी निधन भएको थियो ।

प्रहरीले किटानी जाहेरी नबुझ्दा र हत्यारालाई कारबाही नभएसम्म अस्पतालबाट शव नउठाउने र पोस्टमार्टमसमेत गर्न नदिइने नेकपा पर्साका इन्चार्ज रामचन्द्र साह तेलीले जानकारी दिए ।

“कति वार्ता भयो, कति छलफल भयो, प्रहरी पीडितको कुरा नै सुन्‍न चाहँदैन, मुख्य आरोपितको नाम छुटाएर जाहेरी दिए मात्रै बुझ्‍ने बताउँदै आएको छ,” तेलीले बाह्रखरीसँग भने, “हाम्रो त दसैँ पनि आन्दोलनमै बित्यो ।”

तेलीका अनुसार चौरसिया हत्या र प्रहरी उदासीनताविरुद्ध बुधबार पनि प्रदर्शन, कोणसभा भएको थियो । जुलुसमा नेकपाका कार्यकर्ता र पीडितका आफन्तहरू थिए । 

हत्यारालाई कारबाही र घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाइएको तेलीले जानकारी दिए ।

नेकपा स्थायी कमिटी सदस्य मातृका यादव पनि आजसम्म प्रहरीले मुद्दा दर्ता गर्न नमान्नु अनौठो भएको बताए । “जिल्ला सदस्य राजकुमार गुप्ताको नाम हटाए मात्रै मुद्दा दर्ता गर्ने प्रहरीले बताउँदै आएको छ,” उनले भने, “मुख्य आरोपीको नाम हटाएर कसरी दर्ता हुन्छ ।”

Share via
Copy link
Powered by Social Snap