बोडेको ऐतिहासिक पलिस्वाँः पुखुमा डुङ्गा सरर

0 Shares
पढ्न लाग्ने समय: 3 minutes

‘वरिपरि लामोलामो झाँडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा स्थानीयवासीले फालेको फोहरको डङ्गुर’, दुईवर्ष अगाडिसम्म मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात कमल पोखरीमा देखिने दृश्य हो, यो ।

व्यक्तिको नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नोस्वरुप फेर्ला भन्ने कल्पना पनि नगरेका स्थानीयवासी यतिखेर आफ्नै टोलको यहीँ पोखरीमा सरर डुङ्गा चढ्न पाउँदा बच्चादेखि वृद्धसम्म मख्ख परेका छन् । गरे के सकिदैन रैछ र रु, स्थानीयवासीको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव हुँदोरहेछ, भन्ने नमूना बन्यो, हाम्रो यो ठाउँ । “दुई वर्षमै यहाँको कुमारी मन्दिर, पार्क र यो पोखरीले बोडेको पहिचान नै फेरियो, हामी खुसी छौँ नगरपालिकादेखि”, बोडेका ६१ वर्षीय केदार सिपाहीले भन्नुभयो । तत्कालीन बोडे गाउँपञ्चायत–६ कित्ता नं १ को पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेन्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिको नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयवासीले पोखरी बिक्री भएको चाल पाए र विरोध गर्दै आएका छन् ।

Advertisements

त्यसपछि यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिकासहितको साथमा दायर गरेको रिटको भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते बोडे क्षेत्रको उक्त कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाएपछि पोखरीको संरक्षणमा नगरपालिका जुट्यो । अदालतले फैसला गरेको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगाएर सफा गरी रु ७५ लाख बजेट विनियोजन गरी पोखरीको संरक्षण सुरु गरेको उहाँको भनाइ छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “म सानो छँदा कमलको फूलफुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिको नाममा गयो भनेपछि चुप लागेर बस्न मनले मानेन, त्यसमाथि पनि प्रमुख भएर आएपछि पोखरी जोगाउने दायित्वनै थपियो, स्थानीयवासीसँग काँधमाकाँध मिलाएर अदालत जानेदेखि फैसला नभएसम्म सङ्घर्षमा होमिएँ ।”

अदालतको फैसला आएलगत्तै यो पोखरीलाइै ऐतिहासिक रुपमा पुनःनिर्माण गरेर पोखरीको संरक्षणसँगै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य बल्ल पूरा भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । सिपाहीले भन्नुभयो,“हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पछि पुरियो, फोहर भयो, वास्तै भएन, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ् वाक, साँझ इभिनिङ वाक गर्ने मान्छे धेरै हुन्छन्, फेरि डुङ्गा चलेपछि त मान्छे कहाँ कहाँदेखि आउँछन्, हामीलाई खुसी लागेको छ ।”

Advertisements

नगरपालिकाले रु पाँच लाखमा खरिद गरी दुईवटा ढुङ्गा सञ्चालन गर्नका स्थानीय २० युवाले नेतृत्व गरेको पाँचो गणेश कृषि समूह जिम्मा दिएको छ । नगरप्रमुख श्रेष्ठले सो समूहलाई ढुङ्गा हस्तान्तरण गरेपछि विगत चार दिनदेखि पलिस्वाँ पुखुः मा सरर ढुङ्गा चल्न थालेको हो । पोखरी सुन्दर र आकर्षक बनेपछि यहाँका घरमै बस्ने गृहणी महिलादेखि ज्येष्ठ नागरिक भेला भएर गफ गर्ने र टहलिने थलो बनेको छ । सोमबार साँझ पोखरीको डिलमा लहरै बसेका नौ महिलामध्ये स्थानीय सुनकेशरी मोय श्रेष्ठले भन्नुभयो, “हामी पनि अहिले त बिहान, बेलुका पोखरीको डिलमा चक्कर लगाएर घुम्ने गरेका छाँै, घरमा बसेर दिक्क लाग्दा टहल्ने ठाउँ भएको छ, यसरी साथीसँग भेटेर गफ गर्न पाएका छौँ, रमाइलो भएको छ, हाम्रो त ठाउँनै अर्कै भो ।” उहाँका अनुसार पहिला यहीँ डुङ्गा चढ्न अन्तै जानुपथ्र्यो, बच्चालाई डुङ्गा चढाउनु परे चिडियाखाना लैजानु पथ्र्यो, अहिले आफ्नै ठाउँमा डुङ्गा चल्दा धेरै खुसी लागेको छ ।

लोकन्थली बस्ने शिक्षिका सुष्मा शर्माले यहाँ आएर आफैले डुङ्गा चलाउँदै टिकटक बनाउँदा मज्जा आएको बताउनुभयो । मनोरञ्जन गर्ने ठाउँको अभाव भइरहेको बेलामा डुङ्गामा पोखरी घुम्न पाउँदाको मज्जा छुट्टै छ नी उहाँले भन्नुभयो । जिल्ला समन्वय समिति भक्तपुरकी सदस्य शकुन्तला श्रेष्ठले पोखरीको संरक्षणमा नगरपालिकाले निरन्तर चासो दिनुपर्ने, पोखरीको वरिपरि हरियाली बनाउनुपर्ने, बत्तीको व्यवस्था गर्नुपर्ने र बार हाल्नुपर्ने उहाँले बताउनुभयो ।

Advertisements

पोखरी संरक्षण र डुङ्गा चलाउने जिम्मा लिएका समूहका सुजिन्द्र होना दुई दिन निःशुल्क सेवा शुरु गर्दै सोमबारदेखि रु २० शुल्क लिएर डुङ्गामा पोखरीको यात्रा गराउने गरेको उहाँको भनाइ छ । पोखरीको संरक्षण गर्ने, सरसफाइ गर्ने, मर्मत गर्ने, युवालाई रोजगारीको व्यवस्था गर्ने र यहाँ घुम्न आउनेलाई सेवा सुविधा दिने गरि डुङ्गा सञ्चालन गरेको उहाँको भनाइ छ । समूहकै अर्का राजिव नापित कुमारी पार्कमा आउनेदेखि उपत्यकाका विभिन्न ठाउँबाट यहाँ रमाउन आउनेको भीड लाग्ने गरेको बताउँदै युवाले पोखरीको सरसफाइ गरेको, २० हजार माछाको भुरा पोखरीमा हालेको उहाँले बताउनुभयो ।

नगरपालिकाले पोखरीको वरिपरि बस्ने ठाउँ बनाइदिए, बत्ती राखिदिए र फोहर फाल्ने डस्बिनको व्यवस्था गरिदिए सहज हुने उहाँको भनाइ छ । नगरप्रमुख श्रेष्ठका अनुसार पोखरीलाई अझै सुन्दर बनाउने योजना बाँकी नै छ । पोखरीको वरिपरी निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ र पोखरीको डिलमा यहीँवर्ष तेल्या इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने गरी बनाइने र अगाडिको बाटोमा ढुङ्गा छाप्ने योजना छ ।

यहीँ पोखरीमा फूलेको कमलको फूलले स्थानीय लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पूजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँको कमलको फूल चढाएर जात्रा चलाउने, जिब्रो छड्ने जात्रा चलाउने परम्परालाई नगरपालिकाले यसै वर्षबाट सुरु गराउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । त्यसको लागि पोखरीको बीचबीचमा कमलको बोट रोपिएको छ । रासस

Advertisements
Advertisements
0 Shares
Share via
Copy link
Powered by Social Snap