बहुउपयोगी खुलामञ्च निर्माण हुने

0 Shares
पढ्न लाग्ने समय: 2 minutes


बुटवलमा खुला मञ्च निर्माण हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाले बर्सेनि बढ्दो जनघनत्व र बस्ती विकासका कारण तराईमा खुला क्षेत्र मासिँदै गएपछि उपमहानगरपालिका–११ देवीनगरमा खुला मञ्च निर्माणको योजना बनाएको हो ।

Advertisements

उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरी योजना बनाएर सार्वजनिक जग्गालाई खुला क्षेत्रका रुपमा र बहुउपयोग हुने गरी संरक्षण गर्न थालिएको छ । खाली र खुला ठाउँको अभाव महसुस भइरहेका बेलामा उपमहानगरपालिकाले संरक्षण गर्दै खुलामञ्च बनाउने योजना बनाएको छ । बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

करिब १४ बिघा क्षेत्रलाई समेटेर खुलामञ्च सम्बन्धी गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनामा प्राविधिक तथा विषयविज्ञहरुबाट थप केही सुझाव लिने क्रम चलिरहेको र अबको केही समयमै निर्माण सुरु हुने गरी तयारी भइरहेको प्रमुख सुवेदीले बताउनुभयो । बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडामै खुलामञ्च निर्माणको तयारी भइरहेको छ । उक्त वडाको रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो । जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताउनुभयो ।

Advertisements

विभिन्न कार्यक्रम गर्न, सभा, सम्मेलन, समारोह गर्न मात्र नभई विभिन्न आपत्कालीन अवस्थाको उद्धार स्थलका रुपमा समेत उपयोग गर्न सकिने गरी खुलामञ्चको गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरले यसलाई बहुवर्षे योजनाका रुपमा अगाडि बढाउँदैछ । बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरुपको यो एउटा खुलामञ्च हो । सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित पर्खाल निर्माणको काम आगाडि बढाइने र बाँकी कामलाई चरणबद्ध रुपमा बढाइने प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

उपमहानगरका वरिष्ठ इन्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियार तथा डीपीआर बनाउने काममा खटिएकी इको इन्नोभेटिभ इन्जिनियररिङ प्रालि तिलोत्तमा रुपन्देहीकी सिनियर आर्किटेक इन्जिनियर प्रभा पाण्डेसहितको प्राविधिक टोलीले अहिले प्रस्तावित गुरुयोजनामा सुझाव सङ्कलन गरिरहेको छ । गुरुयोजना अनुसारका काममा विषय विज्ञहरुसँग सुझाव लिन खटिने टोलीलाई प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वडाध्यक्ष रामचन्द्र क्षेत्री र उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले समन्वय गरिरहनुभएको छ ।

Advertisements

यस्तो बन्नेछ बुटवल खुलामञ्च

करिब १४ बिघा क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्ने गरी खुला मैदान बनाइनेछ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइनेछ । मैदान प्रवेश र निकासका अलगअलग द्वार र आपत्कालीन द्वार बन्नेछन् ।

एकैपटक करिब आठ सय जनाले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक शौचालय बनाइने छन् । आठ लाख ९३ हजार नौ सय ७७ वर्गमिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसँगै पछाडि भागामा आठवटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ र प्राथमिक उपचार कक्ष बन्नेछन् ।

खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहनेछ । करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहनेछ । खानेपानीका फिल्टरयुक्त ट्याङ्कीसमेत विभिन्न ठाउँमा राखिनेछ । यसको आर्किटेक डिजाइन गरिरहेकी इन्जिनियर प्रभा पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले भरपुर डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताउनुभयो । उहाँले बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र सौन्दर्यता झल्काउने विशेष क्षेत्रका रुपमा खुलामञ्च निर्माण हुने प्रशस्त आधार रहेको बताउनुभयो ।

एक लाखभन्दा धेरै जना अट्न सक्नेगरी खुला क्षेत्रको चौर रहनेछ भने त्यतिको सङ्ख्यामा आउने मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ । भीआईपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चारपाङ्ग्रे र करिब छ सय जति दुईपाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ ।

पब्लिक बस तथा सवारीहरुलाई पनि खुलामञ्चको दुवैतिरबाट आवागमन मिल्नेगरी रुटको व्यवस्था मिलाइने भएको छ । खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ । गुरुयोजना अनुसारका सबै कामका लागि करिब रु २७ करोड लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ ।
रासस

Advertisements
Advertisements
0 Shares
Share via
Copy link
Powered by Social Snap